भूमि साक्षरता प्लेटफर्मको अवधारणा
भूमि आम नागरिकको चासोको विषय हो। मानव अस्तित्वको मुख्य आधार, उत्पादनको प्रमुख श्रोत, अचल एवं विस्तार गर्न नसकिने, सीमित प्राकृतिक श्रोतको रुपमा रहेको भूमि आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक, पर्यायवरणीय, कानूनी लगायतका आयामहरुसँग जोडिएको हुन्छ। भूमिको समुचित उपयोग, भूस्वामित्वको रक्षा, भूमिहीनता अवस्थाको अन्त्य, अव्यवस्थित बसोबासको व्यवस्थापन, सरकारी सार्वजनिक जग्गाको संरक्षण, प्रकृतिक तथा मानव सृजित जोखिम न्यूनिकरण, खाद्यसुरक्षा, सुरक्षित वसोवास तथा राज्यबाट प्रदान भैरहेका भूमि व्यवस्थापन तथा जग्गा प्रशासन सम्बन्धी सेवामा पारदर्शीता तथा सुशसान कायम गर्ने सम्बन्धमा राज्यले विभिन्न नीतिगत, कानूनी संरचनागत तथा कार्यविधिगत व्यवस्था गरी विभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको छ।
उल्लेखित विषयमा आम नागरिक र सरोकारवालाहरु समक्ष जानकारी हुन नसक्दा एकातर्फ राज्यका नीति तथा कार्यक्रमहरुको प्रभावकारीतामा कमि हुन सक्ने अवस्था रहन्छ भने अर्को तर्फ नागरिकहरु आफ्ना अधिकारबाट वञ्चितिमा पर्ने र टाठाबाठा एवम् विचौलियाहरुको चंगुलमा फस्ने एवम् ठगिने अवस्था सृजना हुन सक्दछ।
यस सन्दर्भमा नापनक्शा, भूमि व्यवस्थापन तथा भौगोलिक सूचनाको क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने र यस क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिको लागि विभिन्न तह र अवधिका विगत पाँच दशक भन्दा लामो अवधि देखि अनवरतरुपमा तालिम संचालन गर्दै आइरहेको एक मात्र सरकारी निकायको रुपमा रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको अन्तराष्ट्रिय गुणस्तर मान्यता प्राप्त भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रले भूमि तथा जग्गा प्रशसनका विविध आयाम एवम् सवालहरुमा आम नागरिक, समुदाय, सरोकारवाला, खोज तथा अनुसन्धानकर्तालाई सरलीकृत ढंगबाट जानकारी दिने तथा भूमि सम्बन्धी सवालहरुमा स्पष्ट र समबुझाई राख्न सहयोग पुर्याउने, भूमि व्यवस्थापन तथा जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाहका सम्बन्धमा भएका संस्थागत प्रबन्ध, विधि, प्रकृया लगायतका विषयमा विद्युतीय माध्यमबाट सुसूचित गर्ने उद्देश्यका साथ यस भूमि साक्षरता प्लेटफर्म तयार गरिएको छ।